काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार मतदान सुरु भएको छ। महाधिवेशनबाट उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीसहित पाँच पदका लागि नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको हो।

सभापति र पुरुष उपसभापति यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अहिले महिला उपसभापति, महामन्त्री, सहमहामन्त्री (खुला) का दुई पद र सहमहामन्त्री (महिला) का एक पदका लागि मतदान जारी छ।

advertisement

महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महामन्त्री पदमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्य चुनावी प्रतिस्पर्धामा छन्।

यद्यपि रञ्जु दर्शनाले अन्तिम उम्मेदवार सूची सार्वजनिक भएपछि आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन कुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरिसकेकी छन्। उम्मेदवारी फिर्ताको सूचना अन्तिम नामावली प्रकाशित भएपछि प्राप्त भएकाले उनको नाम उम्मेदवारको सूची र मतदानका लागि तयार गरिएको विद्युतीय मतदान प्रणालीमा भने यथावत् रहेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

यसैबीच, सहमहामन्त्री (खुला) का दुई पदका लागि ११ जना र सहमहामन्त्री (महिला) को एक पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनलाई रास्वपाको नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com