काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनको मतपरिणाममा गम्भीर प्रक्रियागत त्रुटि भएको भन्दै केन्द्रीय सदस्य पदकी उम्मेदवार पूजा बास्तोला सर्वोच्च अदालत जाने भएकी छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बास्तोलाले आफूले प्रतिनिधिहरूबाट ९१३ मत प्राप्त गरेको र महिलातर्फ शीर्ष दुई तथा खुलातर्फ शीर्ष पाँचभित्र पर्ने मत पाए पनि पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवार निर्वाचित हुँदा आफूलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको दाबी गरेकी छन्।

advertisement

उनले यो विषय आफ्नो व्यक्तिगत जित–हार वा पदसँग सम्बन्धित नभई लोकतान्त्रिक प्रक्रिया, सुशासन र संस्थागत न्यायसँग जोडिएको बताएकी छन्।

‘यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ र त्यसलाई स्वीकार गर्न दबाब सिर्जना गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ,’ विज्ञप्तिमा उल्लेख छ।

बास्तोलाले लोकतन्त्रको विश्वसनीयता परिणाममा मात्र नभई परिणामसम्म पुग्ने प्रक्रियाको निष्पक्षतामा निर्भर रहने उल्लेख गर्दै प्रक्रिया नै अन्यायपूर्ण भएको अवस्थामा त्यसविरुद्ध आवाज उठाउनु आफ्नो जिम्मेवारी भएको बताएकी छन्।

यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गरिए पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएको र उल्टै विषयलाई दबाउन खोजिएको अनुभव भएपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेर कानुनी उपचार खोज्ने निर्णय गरिएको उनले जनाएकी छन्।

बास्तोलाले आफ्नो संघर्ष व्यक्तिगत स्वार्थका लागि नभई आफूलाई मत दिने ९१३ प्रतिनिधिको मतको सम्मान, सही प्रक्रिया, पारदर्शिता र संस्थागत न्यायको पक्षमा रहेको बताएकी छन्।

‘पदभन्दा ठूलो पद्धति हुन्छ र म पद्धतिको पक्षमा अन्तिमसम्म उभिनेछु,’ उनले विज्ञप्तिमार्फत भनेकी छन्।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com