काठमाडौं । कैलालीको धनगढीमा तीन दिनदेखि बेपत्ता रहेका १० वर्षीय बालक तनुज चौधरी मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका चौधरीको शव शुक्रबार स्थानीय जंगलमा भेटिएको हो।
बुधबार साँझदेखि सम्पर्कविहीन भएका तनुजको खोुजीका क्रममा प्रहरी र स्थानीयवासीले शव फेला पारेका थिए। घटनास्थलमा रगत लतपतिएका ढुङ्गा तथा बालकले प्रयोग गरेको साइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शव केही सडिसकेको अवस्थामा भेटिएको छ। उर्मा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत तनुजको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












प्रतिक्रिया