काठमाडौं। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालय का रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आजदेखि सुरु भएको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता र मूल्याङ्कन प्रक्रिया एकैसाथ सञ्चालन गरिएको हो।

advertisement

उच्च शिक्षामा गुणस्तरीय सुधार, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो। यसबाट विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कार थप मजबुत हुने अपेक्षा गरिएको छ।

छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र वस्तुनिष्ठ बनाउन प्रत्येक अन्तर्वार्ता समूहमा सम्बन्धित विषयका विज्ञ तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। मूल्याङ्कनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ समूहसमेत गठन गरिएको छ।

पूर्वनिर्धारित तालिकाअनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण भोलि र पर्सि सञ्चालन हुनेछ।

यससँगै आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया निर्धारित समयसीमाभित्र पूरा हुने अपेक्षा गरिएको छ। यसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार पहिलो पटक एकीकृत प्रक्रियाबाट उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालय सहित आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो। सिफारिस समितिको जेठ १३ गते बसेको बैठकले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको आवेदन स्वीकृत गरेको थियो।

अध्ययन तथा अनुसन्धानपछि अल्पसूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता सुरु गरिएको हो। विज्ञहरूले प्रदान गरेको अङ्कका आधारमा सिफारिस समितिले उपकुलपतिका नाम छनोट गरी कुलपतिलाई सिफारिस गर्नेछ।

वालेन्द्र शाह ले उपकुलपति सिफारिसका लागि सस्मित पोखरेल को अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए। मन्त्रालयका अनुसार उक्त समितिले विज्ञहरूको सहयोगमा उपसमिति गठन गरी मूल्याङ्कनका आधारमा अल्पसूची तयार गरेको हो।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com