काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पछिल्लो तीन महिनायता फैलिएको बर्डफ्लू संक्रमण तीव्र बन्दै गएको छ। पशुसेवा विभाग का अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।

गत चैत ४ गते मोरङ मा पहिलोपटक बर्डफ्लू पुष्टि भएको थियो। त्यसपछि संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सम्म फैलिएको हो।

advertisement

उमेश दाहाल का अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र १ हजार ९ सय ५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए।

रोग नियन्त्रणका लागि पशुसेवा विभाग ले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासी मा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोक का केही क्षेत्रमा संक्रमण अझै देखिएकाले निगरानी बढाइएको छ।

संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ।

विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डा राख्ने बाकस पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरी मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ।

त्यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा पशुचिकित्सकीय प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तुरुन्त नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com