काठमाडौं। अमेरिकाको वित्तीय पूर्वाधार निर्माणमा अग्रणी क्रस रिभर बैंक ले नेपाललाई विश्व वित्तीय प्रणालीसँग प्रभावकारी रूपमा जोड्ने उद्देश्यसहित छलफल सुरु गरेको छ।
बैंकका वरिष्ठ अधिकारीहरूले शुक्रबार होटेल म्यारियटमा नेपालका प्रमुख वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी पूँजी लगानीकर्ता, जलविद्युत् विकासकर्ता, वित्तीय प्रविधि उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदूतहरूसँग व्यापक अन्तरक्रिया गरेका हुन्।
छलफलको मुख्य केन्द्र नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन आवश्यक वित्तीय वातावरण र लगानी संरचना निर्माण कसरी गर्ने भन्ने विषय थियो। कार्यक्रममा सहभागीहरूले नेपालमा पूँजीको अभाव नभए पनि त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने सक्षम वित्तीय संयन्त्रको कमी रहेको औँल्याए।
नेपालसँग करिब २३ अर्ब अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति रहेको छ। बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप रहेको तथा सञ्चय कोष, पेन्सन कोष र बीमा कम्पनीहरूसँग अर्बौँ डलर बराबरको पूँजी न्यून प्रतिफलमा थन्किएको अवस्थामा पनि अपेक्षित प्रत्यक्ष विदेशी लगानी आकर्षित हुन नसकेको निष्कर्ष निकालियो।
छलफलमा प्रस्तुत तथ्याङ्कअनुसार प्रतिबद्ध विदेशी लगानीमध्ये करिब ३९ प्रतिशत मात्रै नेपाल भित्रिएको छ। सहभागीहरूले समस्या पूँजीको नभई पूँजीलाई सही क्षेत्रमा परिचालन गर्ने वित्तीय संरचनाको भएको बताएका छन्।
ऊर्जा क्षेत्रलाई नेपालको सबैभन्दा ठूलो अवसरका रूपमा प्रस्तुत गरिएको छ। विश्व विद्युतीकरण र कृत्रिम बुद्धिमत्तामा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेका बेला नेपाल अतिरिक्त विद्युत् उत्पादन गर्ने मुलुकका रूपमा उभिँदै गएको उल्लेख गरियो।
यद्यपि, जलविद्युत् परियोजनामा सीमित प्रतिफल, विनिमय दरको जोखिम तथा अपर्याप्त पूँजी बजार संरचनाका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि अपेक्षित आकर्षण सिर्जना हुन नसकेको ऊर्जा क्षेत्रका जानकारहरूले बताए।
छलफलको निष्कर्षमा नेपालको आर्थिक सम्भावनालाई विश्वस्तरीय लगानीमा रूपान्तरण गर्न आधुनिक वित्तीय पूर्वाधार, जोखिम मूल्याङ्कन प्रणाली र दीर्घकालीन लगानीमैत्री नीतिको आवश्यकता रहेको औँल्याइएको छ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया