काठमाडौं। रासायनिक मल खरिदमा मूल्य अस्वाभाविक रूपमा महँगो परेपछि अनियमितताको आशङ्का बढेको छ। एउटै कम्पनीबाट खरिद गरिएको मलका लागि नेपालले भारतको तुलनामा झन्डै दोब्बर मूल्य तिरेको देखिएको छ।
सिङ्गापुरस्थित एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङ ले नेपाल र भारत दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने ठेक्का पाएको छ। सोही कम्पनीले भारतलाई प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा मल उपलब्ध गराउँदा नेपाललाई भने प्रतिमेट्रिक टन ९०० दशमलव ७५ अमेरिकी डलरमा बिक्री गरिरहेको छ।
कृषि सामग्री कम्पनीका कर्मचारीहरूले मूल्यमा यति ठूलो अन्तर हुनु शङ्कास्पद भएको बताएका छन्। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घटिरहेको अवस्थामा नेपालले अत्यधिक महँगो मूल्यमा खरिद गर्नु गम्भीर विषय हो।
चीनले युरिया निर्यातमा लगाएको नियन्त्रण खुकुलो बनाएपछि अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्न थालेको बताइएको छ। पश्चिम एसियामा तनाव कम हुँदै गएसँगै मूल्य अझ घट्ने अनुमान गरिएको छ।
उक्त कम्पनीले नेपालका वीरगञ्ज, विराटनगर र भैरहवासम्म ३० हजार मेट्रिक टन मल आपूर्ति गर्ने जिम्मा पाएको छ। यसबापत नेपाल सरकारले दुई करोड ७० लाख २२ हजार ५०० अमेरिकी डलर भुक्तानी गर्नेछ।
यस्तै, नेपाल–भारत सरकारबीच भएको सरकारी सम्झौताअनुसार भारतले नेपाललाई ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। नेपालले ८० हजार मेट्रिक टन माग गरे पनि तत्काल ५० हजार मेट्रिक टन मात्र प्राप्त हुने भएको छ।
सम्झौताअनुसार रकम भुक्तानी भएको १२० दिनपछि मात्र मल आपूर्ति हुने व्यवस्था रहेकाले भारतबाट आउने मल धान रोपाइँको मुख्य सिजनमा उपलब्ध नहुने देखिएको छ। यसले किसानलाई समयमै मल उपलब्ध गराउने सरकारी प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया