काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने परराष्ट्र नीति अंगीकार गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत पार्टीले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र रणनीतिक सन्तुलनलाई वैदेशिक नीतिको मूल आधार बनाउने घोषणा गरेको हो।

प्रतिवेदनमा नेपालको संविधानले परिभाषित गरेको राष्ट्रिय हित, स्वाभिमान, सार्वभौमिकता, भौगोलिक अखण्डता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय प्रतिष्ठालाई परराष्ट्र नीतिको प्रमुख मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारिएको छ।

रास्वपाले कुनै पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रप्रति अनावश्यक झुकाव वा निर्भरता नराख्ने स्पष्ट गर्दै बहुआयामिक साझेदारी, रणनीतिक सन्तुलन र स्वायत्त निर्णय क्षमतामार्फत विश्व समुदायमा नेपालको भूमिका थप सशक्त बनाउने नीति लिएको जनाएको छ।

पार्टीले संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलनको भावना तथा अन्तर्राष्ट्रिय कानुनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानताका आधारमा सम्बन्ध विस्तार गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरेको छ।

बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तन, ऊर्जा सुरक्षा, आपूर्ति शृङ्खला, प्रविधि शासन, साइबर सुरक्षा र आप्रवासनजस्ता विश्वव्यापी चुनौतीमा नेपालले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। साथै, यस्ता विषयमा नेपाललाई विश्व मञ्चमा सक्रिय, प्रभावकारी र विश्वासयोग्य आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिवेदनमा विश्वभर रहेका प्रवासी नेपालीलाई नेपालको ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिको सबैभन्दा महत्त्वपूर्ण स्रोतका रूपमा व्याख्या गर्दै उनीहरूको ज्ञान, सीप, लगानी र अन्तर्राष्ट्रिय सञ्जाललाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा उपयोग गर्ने नीति पनि अघि सारिएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com