काठमाडौं। काठमाडौं उपत्यकामा कागका कारण बर्डफ्लु फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार उपत्यकाभर कागमा बर्डफ्लु संक्रमण देखिएपछि रोगको फैलावट तीव्र भएको हो।

 

उनका अनुसार कुखुरामा देखिने बर्डफ्लु नियन्त्रण गर्न सकिए पनि कागजस्ता स्वतन्त्र रूपमा उड्ने चराहरूलाई नियन्त्रण गर्न कठिन हुने भएकाले संक्रमण फैलावट रोक्न चुनौती थपिएको छ। “कागहरू एक स्थानबाट अर्को स्थानमा सहजै उड्ने भएकाले संक्रमण फैलिएको हो,” उनले भने।

 

महानिर्देशक दाहालका अनुसार संक्रमित कागले २१ दिनसम्म संक्रमण सार्ने क्षमता राख्छन्, जसले रोगको फैलावटलाई थप जटिल बनाएको छ। उनका भनाइअनुसार काग मरेपछि त्यसको ठेगाना पत्ता लगाउन कठिन हुने भएकाले मृत कागमार्फत समेत संक्रमण फैलिन सक्ने जोखिम रहेको छ। साथै, कागको दिसामार्फत पनि बर्डफ्लु फैलिन सक्ने उनले बताए।

 

हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु संक्रमण देखिएको विभागले जनाएको छ। देशभर भने ११ जिल्लाका करिब १०० स्थानमा संक्रमण पुष्टि भएको छ।

 

दाहालका अनुसार उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा बाहेक अधिकांश स्थानमा संक्रमण नियन्त्रणमा लिइएको छ। बर्डफ्लु पन्छीमा देखिने उच्च मृत्युदर भएको संक्रामक रोग भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

 

विभागले बर्डफ्लु नियन्त्रणका लागि उपमहानिर्देशकको नेतृत्वमा नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहको समन्वयमा रोग प्रभावित क्षेत्रमा नियन्त्रण तथा रोकथाम अभियान सञ्चालन गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com