काठमाडौं। सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सार्वजनिक बिदाको दिनसमेत निरन्तर अनुगमन भइरहेको छ।
औषधि व्यवस्था विभागका अनुसार पछिल्लो अनुगमनका क्रममा विभिन्न स्थानका औषधि पसलहरू निरीक्षण गरिएका छन्। महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल र चाबहिल आसपास १८ वटा, पाटन तथा जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क–बालाजु क्षेत्रमा १४ वटा तथा बनेपा क्षेत्रमा ८ वटा गरी कुल ६६ वटा फार्मेसीको निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटाक्याप्स २५० नामक २१ थान नक्कली औषधि बरामद गरिएको विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी, नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेका, फार्मासिस्टबिनै सञ्चालनमा रहेका तथा सरसफाइ र मापदण्ड पूरा नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजारमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले आगामी दिनहरूमा समेत बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। यसबाट उपभोक्ताले गुणस्तरीय तथा सुरक्षित औषधि प्राप्त गर्न सहज हुने र अवैध औषधि कारोबार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै, नक्कली औषधिको भण्डारण, आपूर्ति तथा बिक्री वितरणमा संलग्न व्यक्ति, संस्था र सम्भावित उत्पादकहरूको पहिचान गरी कानुनअनुसार कडा कारबाही अघि बढाइने विभागले जनाएको छ।
विभागले सर्वसाधारणलाई औषधि खरिद गर्दा मात्र आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट खरिद गर्न र शंका लागेमा सम्बन्धित निकायमा जानकारी गराउन समेत आग्रह गरेको छ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया