काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेका सरकारहरूले देश र जनताविरुद्ध कुनै गलत काम नगरेकाले जनताको असन्तुष्टिको वास्तविक कारण एमाले नभई योजनाबद्ध रूपमा फैलाइएको भ्रम र अफवाह भएको दाबी गरेका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेमाथि विभिन्न आरोप लगाइए पनि ती तथ्यमा आधारित नभएको बताए।

उनले आफूहरूबाट केही कमजोरी र त्रुटि भएको स्वीकार गर्दै त्यसको आत्मसमीक्षा गर्न तयार रहेको उल्लेख गरे। तर, एमालेकै कारण देश बर्बाद भएको भन्ने भाष्यलाई उनले पूर्ण रूपमा अस्वीकार गरे।

‘हामीले देशलाई पछाडि धकेलेका होइनौँ, विकास र समृद्धिको दिशामा अघि बढाएका हौँ,’ ओलीले भने, ‘देश बिग्रियो भन्ने प्रचार वास्तविकताभन्दा राजनीतिक भाष्य निर्माण गर्ने प्रयास मात्र हो।’

ओलीले विकास निर्माणका थुप्रै काम एमाले नेतृत्वका सरकारकै पालामा अघि बढाइएको दाबी गर्दै जनतामा देखिएको असन्तुष्टिको कारण सरकारको कामभन्दा पनि विपक्षीबाट फैलाइएको दुष्प्रचार रहेको बताए।

‘हामीले देश, जनता वा विकासका विरुद्ध कुनै काम गरेका छैनौँ। झूटा प्रचार, अफवाह र बदनाम गर्ने अभियानमार्फत एमालेलाई कमजोर देखाउने प्रयास गरिएको हो,’ उनले भने।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com