विराटनगर । भारतबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनका चालकलाई दुःख दिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
आइतबार विराटनगर–१६ स्थित पुरानो भन्सार कार्यालय परिसरबाट पक्राउ पर्नेमा विराटनगर–१३ का ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१ का ४४ वर्षीय सञ्जय केवट र विराटनगर–१५ का ६७ वर्षीय नरेन्द्र थापा रहेका छन्। उनीहरूले कुनै आधिकारिक अनुमति बिना बिचौलियाको भूमिका निर्वाह गर्दै चालकसँग बार्गेनिङ गर्ने र पैसा नदिए हैरानी दिने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी महेन्द्रकुमार मिश्रका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया