काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले किसानलाई ठूलो अनुदानको आश्वासनभन्दा पनि समयमै मल, गुणस्तरीय बीउ र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस वर्ष अनियमित वर्षा र खडेरीको जोखिम रहेकाले किसानलाई सम्भावित ठूलो क्षतिबाट जोगाउन सरकारले कृषि बिमाको पूर्ण सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका हुन्।
पोखरेलले सरकारले कृषिमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानका लागि आकर्षक अनुदान घोषणा गरेकोप्रति टिप्पणी गर्दै व्यावसायिक कृषि र आधुनिकीकरणका लागि यस्तो नीति सकारात्मक भए पनि यसले अधिकांश साना किसानलाई कुनै प्रत्यक्ष लाभ नपुग्ने बताएका छन्।
‘कृषिमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्नेहरूका लागि आकर्षक अनुदान घोषणा गर्नु आफैंमा नराम्रो होइन। व्यावसायिकता र आधुनिकीकरणका लागि यो आवश्यक कदम हुन सक्छ,’ उनले लेखेका छन्, ‘तर प्रश्न के उठ्छ भने, के आम नेपाली किसानको हैसियत त्यति ठूलो लगानी गर्न सक्ने अवस्थामा पुगेको छ?’
उनले राज्यको प्राथमिकता अझै पनि वास्तविक किसानसम्म नपुगेको टिप्पणी गर्दै कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि किसानले अपेक्षित संरक्षण र प्रोत्साहन नपाएको बताएका छन्।
‘भौतिक रूपमा संसारले जति नै प्रगति गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्त्व कहिल्यै घट्दैन,’ उनले उल्लेख गरेका छन्, ‘तर सरकारले यही यथार्थलाई आत्मसात् गर्न सकेको छैन। कृषि र किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न सकेका छैनन्।’
महासचिव शंकर पोखरेलले सरकारले नीति तथा कार्यक्रममै मध्यम वर्गको संरक्षणको कुरा गरे पनि उत्पादनमा अहोरात्र खटिने श्रमिक किसानलाई राज्यको साथ र संरक्षण अझ बढी आवश्यक रहेको बताएका छन्।
‘मध्यम वर्ग आफ्नै बलमा संघर्ष गरेर अघि बढ्न सक्छ,’ उनले भनेका छन्, ‘तर खेतबारीमा दिनरात पसिना बगाएर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योगदान गर्ने भुइँमान्छेलाई राज्यको ओत, संरक्षण र प्रोत्साहनको आवश्यकता अझ बढी छ।’
उनले किसानका लागि करोडौं रुपैयाँको अनुदानभन्दा समयमै मल, उन्नत बीउ, सिँचाइ, कृषि बिमा र उत्पादनको सुनिश्चित बजार तथा उचित मूल्य उपलब्ध गराउनु नै सरकारको पहिलो दायित्व हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया