काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगलाई सरकारको एकल प्रयासले मात्रै सुधार गर्न नसकिने बताएका छन्। उनले हवाई क्षेत्रको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे।

सोमबार मन्त्रालयमा आयोजित ‘नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ विषयक संवाद कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पर्यटन र राष्ट्रिय अर्थतन्त्रको भविष्य हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। तर, वर्तमान अवस्थामा हवाई उद्योग अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै उनले त्यसको सुधार सरकारको प्राथमिकतामा रहेको बताए।

उनका अनुसार नेपालले पर्यटन प्रवर्द्धनमार्फत ठूलो आर्थिक उपलब्धि हासिल गर्ने लक्ष्य राखे पनि त्यसअनुसार हवाई पूर्वाधार र सेवा विस्तार हुन सकेको छैन। सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरू पनि विभिन्न समस्या र चुनौतीसँग जुधिरहेका कारण समग्र हवाई उद्योग दबाबमा परेको उनले बताए।

‘सरकारले चाहँदैमा एक्लै यो क्षेत्रलाई उकास्न सक्ने अवस्था छैन,’ मन्त्री पौडेलले भने, ‘मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो अवधिमै हवाई क्षेत्र धेरै जटिल र चुनौतीपूर्ण रहेको अनुभव गरेको छु। तर, चुनौतीका कारण यसलाई बेवास्ता गर्ने विकल्प छैन। सबै पक्षसँग सहकार्य गरेर समाधान खोज्नैपर्छ।’

उनले हवाई उद्योग बलियो नभएसम्म पर्यटन क्षेत्रको अपेक्षित विकास सम्भव नहुने र पर्यटनको विकासबिना मुलुकको आर्थिक समृद्धिको लक्ष्य पनि हासिल गर्न कठिन हुने धारणा व्यक्त गरे।

युरोपेली संघ (ईयू) ले नेपाली वायुसेवामाथि लगाएको उडान प्रतिबन्ध हटाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संस्थागत सुधार अघि बढाइएको जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै नेपालको हवाई क्षेत्रलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com