काठमाडौं। सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सरकारी सवारीबाट अभियान सुरु गरेका छन्।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गुरुङले आफूले प्रयोग गर्दै आएको सवारीमा रहेको कालो सिसा तत्काल हटाउन निर्देशन दिएका हुन्।

उनले कानुनको पालना सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै सरकारी वा निजी जुनसुकै सवारी भए पनि नियमविपरीत जडान गरिएका कालो सिसा हटाउन कुनै सम्झौता नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिए।

निरीक्षणका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुरेश काफ्ले लगायतका अधिकृतसँग छलफल गर्दै उनले अभियानलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउन आग्रह गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले असार १४ गतेदेखि सवारीसाधनमा राखिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ। अभियानको पहिलो चरणमा सिसामा टाँसिएका कालो पत्र हटाउने काम भइरहेको छ।

यसैबीच, निर्माण कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा ट्राफिक प्रहरीले गाडी विक्रेता कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरेको छ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com