काठमाडौं । विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थुनछेक बहसपछि अर्याललाई पाँच लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीलाई चार लाख रुपैयाँ तथा शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंलाई जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। ठेकेदार पक्षका नेपाल एजेन्ट मणिन्द्रराज मल्ललाई पनि पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरिएको छ।
यस्तै, लेखा अधिकृत तुलसीप्रसाद आचार्य र उपसचिव राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा भ्रष्टाचार भएको आरोप लगाउँदै महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया