काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थान (TU-IOM) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले ६ बुँदे माग अघि सार्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले लामो समयदेखि लागू रहेको चिकित्सा शिक्षाको पाठ्यक्रम र परीक्षा प्रणाली समयसापेक्ष नभएको भन्दै तत्काल सुधार गर्न माग गरेका हुन्। उनीहरूले पाठ्यक्रम, परीक्षा प्रणाली र मूल्याङ्कन प्रक्रियामा व्यापक सुधार नभए विद्यार्थीको शैक्षिक भविष्य र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने बताएका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले १९ वर्षदेखि सञ्चालनमा रहेको पाठ्यक्रम तथा परीक्षा प्रणाली तत्काल परिमार्जन गर्न, ‘ब्याच ड्रप’  प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत (Objective) र विषयगत (Subjective) दुवै प्रकारका प्रश्न समावेश गर्न माग गरेका छन्।

यस्तै, परीक्षाको तालिका व्यावहारिक बनाउँदै तयारीका लागि पर्याप्त समय सुनिश्चित गर्न, परीक्षामा सहभागी हुने अवसरको संख्या बढाउन तथा विद्यार्थीको मानसिक स्वास्थ्य, समय र शैक्षिक भविष्यको संरक्षण गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

विद्यार्थीहरूको मागअनुसार पहिलो वर्षमा परीक्षा दिने अवसर ८ पटक र दोस्रो वर्षमा ६ पटक पुर्‍याउनुपर्ने उनीहरूको भनाइ छ।

मागहरूको सम्बोधनका लागि सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले तत्काल वार्ता र सुधार प्रक्रिया अघि बढाउन सरकार तथा विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्।

यस्ता छन् मागहरु :
१. १९ वर्ष पुरानो पाठ्यक्रम र परीक्षा प्रणली तत्काल परिवर्तन गरियोस् !
२. ब्याच डूप (Batch Drop) प्रणाली खारेज गरियोस् !
३. Objective र Subjective दुबै प्रकारका प्रश्न समावेश गरियोस् !
४.परीक्षाको तालिका व्यावहारिक बनाई पर्याप्त तयारीको समय सुनिश्वित गरियोस् !
५. Attempts को संख्या वृद्धि गरियोस् ! (1st Year: 8 Attempts 2nd Year: 6 Attempts)
६. विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्य सुरक्षा गरियोस् !

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com