काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले अब कुनै पनि राजनीतिक दलसँग औपचारिक पार्टी एकता नगर्ने स्पष्ट घोषणा गरेका छन्। उनले पार्टीमा प्रवेश गर्न इच्छुक व्यक्ति वा समूहलाई भने खुला रूपमा स्वागत गर्दै सम्मानपूर्वक समेटिने बताएका छन्।
मंगलबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताको नाममा हुने स्वार्थ, गठबन्धन र राजनीतिक सौदाबाजीप्रति असन्तुष्टि व्यक्त गरे।
‘एमालेले अब कुनै पनि पार्टीसँग संस्थागत वा समूहगत एकता गर्दैन,’उनले भने, ‘तर एमालेको नीति, विचार र नेतृत्वमा विश्वास गरेर आउने व्यक्ति वा समूहलाई पार्टीमा प्रवेश गराई उदारतापूर्वक समेट्नेछौँ।’
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि वाम एकताको बहस फेरि चर्किरहेका बेला ओलीको यो अभिव्यक्ति आएको हो। विशेषगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले वाम शक्तिबीच पुनः एकताको आवश्यकता औँल्याइरहेका बेला ओलीले यस्तो सम्भावना अस्वीकार गरेका हुन्।
उनले पार्टी एकताको बहसलाई वैचारिकभन्दा पनि स्वार्थकेन्द्रित र अवसरवादी बनाइएको आरोप लगाउँदै सिद्धान्तविहीन एकताले कम्युनिस्ट आन्दोलनलाई थप कमजोर बनाउने धारणा राखे।
यद्यपि, लोकतान्त्रिक मूल्य, संविधान र राष्ट्रिय हितमाथि चुनौती देखिएको उल्लेख गर्दै ओलीले लोकतन्त्रको रक्षा गर्न सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए।
‘पार्टी एकता होइन, तर लोकतन्त्र र राष्ट्रिय हितको रक्षाका लागि साझा मुद्दामा संयुक्त संघर्ष गर्न सकिन्छ,’ उनले भने।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया