काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकास्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार रुकुमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएपछि दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालक ३४ वर्षीय दिपेश ढकाल, रुकुम चौरजहारी नगरपालिका–१० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्।
घाइते चारै जनालाई तत्काल उद्धार गरी उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया