काठमाडौं। भारतको राजस्थान राज्यस्थित दौसा जिल्लामा बस र ट्रक ठोक्किँदा आठ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटनापछि दुवै सवारी साधनमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाचार संस्था पीटीआईका अनुसार दिल्ली–मुम्बई एक्सप्रेसवेमा बुधबार बिहान भएको दुर्घटनापछि बस र ट्रकमा आगो लागेको थियो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ।
दौसाका प्रहरी उपरीक्षक (एसपी) पियुष दीक्षितका अनुसार दुर्घटना बिहान करिब ३:३० बजे भएको हो। ऋषिकेशबाट इन्दौरतर्फ गइरहेको स्लीपर बस र खाली ट्रली बोकेको ट्रक एकअर्कासँग ठोक्किएका थिए। प्रारम्भिक अनुसन्धानका आधारमा अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ठक्करपछि दुवै सवारी सडकबाट बाहिरिएर डिभाइडरतर्फ पुगेका थिए, त्यसलगत्तै आगलागी भएको थियो। उद्धारकर्ताले अधिकांश यात्रुलाई समयमै बाहिर निकाल्न सफल भए पनि केही यात्रु बसभित्रै फसेका थिए।
एसपी दीक्षितका अनुसार आगलागीमा परेर छ जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको गम्भीर टाउकोमा चोट लागेका कारण ज्यान गएको हो।
दौसाका जिल्ला अधिकारी सौम्य झाले बसमा सवार करिब २५ जना यात्रु सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको जानकारी दिएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
- रासस
प्रकाशित मिति: १७ असार २०८३, बुधबार













प्रतिक्रिया