मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय चालक रविशङ्कर कुमार मण्डल रहेका छन्। अन्य मृतकमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका बासिन्दा हुन्।
दुर्घटनामा चक्रघट्टा–४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव तथा उनका तीन छोरीहरू ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव र १० वर्षीया अनु कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही स्थानका गुड्डु यादव (३५–३६ वर्ष), उनकी श्रीमती गायत्री देवी (३०–३२ वर्ष), रामदुलार यादव (२५–२६ वर्ष), सुबोध यादव (२४–२५ वर्ष) र १५ वर्षीय रोहन यादवले पनि दुर्घटनामा ज्यान गुमाएका छन्।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। उपचारपछि ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव डिस्चार्ज भएका छन्।
तीन वर्षीय सुजन यादव र १४ महिनाका बालक सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै, ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल रेफर गरिएको छ भने २६ वर्षीय अर्का देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया