काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दार्चुलाको आकाशमा प्रवेश गरेको भारतीय सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली हवाई क्षेत्रमा पुगेको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले उक्त हेलिकप्टर नियोजित वा गलत मनसायका साथ नेपाली भूभागमा प्रवेश गरेको नदेखिएको स्पष्ट पारे।

उनले दार्चुलाको भौगोलिक अवस्था र त्यसबेलाको प्रतिकूल मौसमका कारण हेलिकप्टर नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको प्रारम्भिक निष्कर्ष रहेको उल्लेख गर्दै यस विषयमा नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको जानकारी दिए।

‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित वा गलत मनसायले नेपालको भूभागमा प्रवेश गरेको देखिएको छैन,’ मन्त्री खनालले भने, ‘त्यस क्षेत्रको भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण नेपाली आकाशमा प्रवेश भएको विषयमा नेपाली अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक समन्वय भइरहेको छ।’

गत जेठ २७ गते बिहान नेपाल सरकारको पूर्वस्वीकृतिविना भारतीय सेनाको एक हेलिकप्टर दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु क्षेत्रको आकाश हुँदै कालापानीतर्फ गएको थियो। उक्त घटनापछि सीमाक्षेत्रमा भारतीय हेलिकप्टरको प्रवेशबारे विभिन्न प्रश्न उठेका थिए।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com