काठमाडौं। काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।
वडा नम्बर २६ अन्तर्गत नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई जबर्जस्ती तान्ने, झोला खोस्ने तथा अनावश्यक रूपमा दुःख–हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूले यात्रुहरूमाथि दुर्व्यवहार गर्नुका साथै नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथिसमेत अभद्र व्यवहार गरेका थिए। त्यसपछि बुधबार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको हो।
पक्राउ पर्नेमा रुपन्देही, गोरखा, जुम्ला, बाँके, दाङ, रोल्पा, कास्की, डडेलधुरा, मुगु, उदयपुर, कैलाली र स्याङ्जाका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये सबैभन्दा कम उमेर १७ वर्ष र बढी उमेर ६० वर्ष रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नयाँ बसपार्क क्षेत्रमा यात्रु ठगी, हैरानी तथा अव्यवस्थित गतिविधि नियन्त्रण गर्न निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाएको छ। यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने पनि प्रहरीले चेतावनी दिएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया