काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित नुवाकोटका कुमार थापामगरविरुद्ध श्रीमती ईश्वरी भुजेलको योजनाबद्ध हत्या गरेको अभियोगमा जन्मकैदको सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

काठमाडौं प्रहरी परिसरको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार थापामगरसहित उनकी प्रेमिका प्रतीक्षा आचार्य, सहोदर भाइ विक्रम थापामगर र पुजन क्षेत्री थापालाई प्रतिवादी बनाउँदै अदालतमा अभियोगपत्र दायर गरेको हो।

अनुसन्धानअनुसार गत जेठ २२ गते नेपाली सेनाको सैनिक ब्याण्डमा सुवेदारका रूपमा कार्यरत ईश्वरी भुजेल कार्यालयको ड्युटी सकेर स्कुटरमा घर फर्किरहेका बेला काठमाडौं महानगरपालिका–तारकेश्वर क्षेत्रको पैयाँटार उकालोमा ढुकेर बसेका कुमार थापामगरले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका थिए।

घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा ईश्वरीको बाटोमै मृत्यु भएको थियो। घटनापछि प्रहरीले मुख्य अभियुक्त थापामगरसहित अन्य संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको अनुसन्धानबाट करिब दुई दशकअघि प्रेम विवाह गरेका कुमार र ईश्वरीबीच पछिल्ला वर्षहरूमा सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको खुलेको छ। सामाजिक सञ्जालमा सक्रिय थापामगरको अन्य महिलासँगको सम्बन्ध, विशेषगरी प्रतीक्षा आचार्यसँगको प्रेम सम्बन्धका कारण दम्पतीबीच बारम्बार विवाद हुने गरेको अभियोगपत्रमा उल्लेख छ।

अनुसन्धानका क्रममा ईश्वरीले यसअघि नै कुमारविरुद्ध जबरजस्ती करणी तथा घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेको र ती मुद्दा अदालतमा विचाराधीन रहेको खुलेको छ। अभियोगपत्रअनुसार कुमारले ती मुद्दा फिर्ता लिन पटक–पटक दबाब दिएका थिए।

तर, ईश्वरीले मुद्दा फिर्ता लिन अस्वीकार गर्नुका साथै सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएपछि प्रतिशोधको भावनाले योजनाबद्ध रूपमा हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको छ।

सरकारी वकिलको कार्यालयले घटनामा संलग्न चारै जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अभियोग दर्ता गर्दै कानुनबमोजिम जन्मकैदको सजाय माग गरेको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com