काठमाडौं। सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

सरकारको सय दिने कार्यसूचीअन्तर्गत सातै प्रदेशमा महिलाका लागि निःशुल्क सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने योजनाअनुसार पहिलो चरणमा उपत्यकाबाट सेवा सुरु हुन लागेको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा कुल आठ वटा बस सञ्चालनमा आउनेछन् भने दीर्घकालीन रूपमा २५ वटा विशेष बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

यो सेवा सञ्चालनका लागि साझा यातायातले आवश्यक राय, परामर्श तथा आर्थिक सहमतिका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिसकेको छ। बजेट स्वीकृत हुनासाथ सेवा औपचारिक रूपमा सुरु गरिने जनाइएको छ।

सार्वजनिक सवारीमा महिलामाथि हुने दुर्व्यवहार न्यूनीकरण गरी सुरक्षित, सहज र मर्यादित यात्रा सुनिश्चित गर्न यो योजना ल्याइएको मन्त्रालयले जनाएको छ।

प्रारम्भिक चरणमा भीडभाड बढी हुने मुख्य रुटमा बस सञ्चालन गरिनेछ। लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा बस चल्नेछन्। त्यसैगरी थानकोट–नागढुंगा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ।

चक्रपथ क्षेत्रमा चार वटा बस परिचालन गरिनेछ, जसमा दुई वटा सुल्टो दिशामा र दुई वटा उल्टो दिशामा सञ्चालन हुनेछन्।

यो सेवा पूर्ण रूपमा निःशुल्क हुने भएकाले विशेषगरी कामकाजी महिला, विद्यार्थी तथा दैनिक आवागमन गर्ने महिलाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।

उपत्यकामा सेवाको प्रभावकारिता मूल्यांकनपछि यसलाई क्रमशः देशका अन्य प्रमुख सहरमा विस्तार गरिने सरकारको योजना छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com