काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। बिना हेलमेट मोटरसाइकल चलाएको पुष्टि भएपछि ट्राफिक प्रहरीले उनीबाट ५०० रुपैयाँ जरिवाना असुल गरेको हो।

मुख्यमन्त्री शाहले आफ्नै सरकारी निवास परिसरभित्र हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे व्यापक चर्चा भएको थियो। भिडियो भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपाल प्रहरीलाई ध्यानाकर्षण गराउँदै कानुनअनुसार कारबाही गर्न माग गरेका थिए।

त्यसपछि ट्राफिक प्रहरीको टोली मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा उनीलाई ५०० रुपैयाँ जरिवाना तिराएको हो।

जरिवाना बुझाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरे। उनले कानुन सबैका लागि समान हुने उल्लेख गर्दै नियम उल्लङ्घन गर्ने जोसुकैले पनि कानुनअनुसार कारबाही भोग्नुपर्ने बताए।

उनले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै आफूले पनि भविष्यमा यस्ता विषयमा थप सचेत रहने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले उक्त भिडियो टिकटकमा सार्वजनिक गरेका थिए। सोही भिडियोका आधारमा सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएपछि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको थियो।

यसअघि पनि ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सांसद हर्क सामपाङमाथि ट्राफिक प्रहरीले कारबाही गरेको थियो।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com