काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिने व्यक्ति वा संस्थामाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका विभिन्न स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल उपलब्ध छैन’ भन्दै बिक्री वितरण रोकेको सूचना आएको उल्लेख गरे। यस्तो गतिविधिले बजारमा कृत्रिम अभाव सिर्जना भएको आशंका बलियो बनेको उनको भनाइ थियो।
सांसद रोकायाले मूल्यवृद्धिको भार सधैं उपभोक्ताले व्यहोर्नुपर्ने तर मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ नागरिकले नपाउने अवस्था स्वीकार्य नहुने बताए।
उनले भने, ‘मूल्य बढ्दा भार बोक्ने जनताले मूल्य घट्दा राहत किन नपाउने?’
पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित बनाउने वा कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न उनले सरकारलाई आग्रह गरे।
त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य घटेकाले त्यसको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायात र हवाई सेवाको भाडामा पनि देखिनुपर्ने उल्लेख गर्दै उनले सरकारले तत्काल सार्वजनिक सवारी तथा आन्तरिक हवाई उडानको भाडा पुनरावलोकन गर्नुपर्ने माग गरे।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया