काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि बेपत्ता गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले गोताखोरसहितको उद्धार टोली परिचालन गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट बिहीबार दिउँसो करिब १:३५ बजे ६ जना गोताखोरसहितको थप टोली घटनास्थलतर्फ पठाइएको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो। घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ भने बेपत्ता गाडी र अन्य यात्रुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












प्रतिक्रिया