काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारप्रति देखिएको जनसमर्थन सामाजिक सञ्जालको ‘अल्गोरिदम’ र ‘पपुलिस्ट’ राजनीतिको प्रभावबाट सिर्जना भएको दाबी गर्दै यस्तो समर्थन दीर्घकालीन नहुने बताएका छन्।
टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ मा सहभागी हुँदै बस्नेतले सरकार गठनका बेला जनतामा देखिएको उच्च अपेक्षा अहिले क्रमशः कमजोर बन्दै गएको उल्लेख गरे। जनताले राखेका अपेक्षा पूरा गर्न सरकार असफल भएकाले प्रारम्भिक उत्साह घट्दै गएको उनको भनाइ थियो।
बस्नेतले वर्तमान जनमतलाई ‘सुगर र प्रेसर नियन्त्रण नगरी गरिएको अप्रेसन’ सँग तुलना गर्दै यस्तो राजनीतिक अभ्यासले देशलाई जोखिमपूर्ण अवस्थातर्फ धकेल्न सक्ने टिप्पणी गरे।
उनले सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति, पपुलिस्ट राजनीति र डिजिटल प्रभावका आधारमा स्थापित नेतृत्वले प्रभावकारी रूपमा मुलुक सञ्चालन गर्न नसक्ने दाबी गरे।
‘अल्गोरिदमको मानसिकताबाट सिर्जना भएको अपेक्षा धेरै समय टिक्दैन। भाइरल हुने प्रवृत्ति र पपुलिजमको भरमा अगाडि आएका मानिसहरूले देशलाई प्रभावकारी रूपमा हाँक्न सक्दैनन्,’ बस्नेतले भने।
उनले विगतका सरकारका कमजोरी स्वीकार गर्दै ती अनुभवबाट सिकेर स्थापित राजनीतिक प्रणालीलाई थप परिमार्जित, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।
बस्नेतले वर्तमान सरकारको राजनीतिक यात्रा पनि लामो समय नटिक्ने दाबी गर्दै राष्ट्रियता सुदृढीकरण, विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने काममा एमाले नेतृत्वका सरकारहरूले उल्लेखनीय योगदान दिएको जिकिर गरे।
उनले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यसम्पादन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै १५ वर्षअघिको नेपालको अवस्थासँग तुलना गर्दा एमाले नेतृत्वका सरकारहरूले पूर्वाधार विकास, आर्थिक प्रगति र राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार












प्रतिक्रिया