काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुक्रबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा सुरु भएको छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक रणनीति तथा आगामी कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो।

इतर पक्षका नेता डा. प्रकाशशरण महतका अनुसार बैठकमा सातै प्रदेशमा सम्पन्न भेला, त्यसको समीक्षा तथा राष्ट्रिय भेला आयोजना गर्ने तयारीबारे विशेष छलफल भइरहेको छ।

यसअघि बिहीबार नेता विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच छुट्टै छलफल भएको थियो। त्यस्तै, पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाबीच पनि पार्टीको पछिल्लो राजनीतिक अवस्था र आन्तरिक विवाद समाधानका विषयमा संवाद भएको थियो।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापनइतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गरी नयाँ कार्यसमिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ।

यता, संस्थापन पक्षले भने पार्टी विधानले यस्तो व्यवस्था नगरेकाले उक्त प्रस्ताव कार्यान्वयन गर्न नसकिने स्पष्ट गर्दै आएको छ। यही विषयलाई लिएर कांग्रेसभित्रको आन्तरिक मतभेद अझै कायम रहेको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com