काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रलाई दलगत प्रभाव र राजनीतिक हस्तक्षेपबाट मुक्त नगरेसम्म गुणस्तरीय शैक्षिक सुधार सम्भव नहुने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले विद्यालय व्यवस्थापनदेखि शिक्षक र प्रधानाध्यापक नियुक्तिसम्म दलगत आधारमा हुने अभ्यासले नेपालको शिक्षा प्रणाली गम्भीर संकटमा परेको टिप्पणी गरे।
उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा प्रधानाध्यापकलाई दलको आधारमा हेर्ने संस्कार अन्त्य गर्नुपर्नेमा जोड दिए।
‘गाउँमा कुनै विद्यालयको अवस्था सोध्यो भने ‘त्यहाँ व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक वा प्रधानाध्यापक हाम्रै मान्छे हुन्’ भन्ने उत्तर सुनिन्छ। यो राजनीति होइन, दलीयकरण हो। शिक्षालाई यस्तो प्रवृत्तिबाट मुक्त गर्नैपर्छ,’ थापाले भने।
उनले शिक्षा आफैंमा राजनीतिक महत्त्वको विषय भए पनि त्यसलाई दलगत स्वार्थको माध्यम बनाउन नहुने स्पष्ट पारे। समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे गम्भीर राष्ट्रिय बहस आवश्यक रहेको उनको धारणा थियो।
थापाले शिक्षा क्षेत्रको लक्ष्य, उद्देश्य र दीर्घकालीन दिशा स्पष्ट गरेर त्यसलाई मुलुकको विकास र समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। राजनीतिक दलहरूले पनि शिक्षा सुधारलाई प्राथमिकतामा राखेर नीतिगत छलफल अघि बढाउनुपर्ने उनले बताए।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया