काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा आज प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ ।

घटनामा एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन् भने अन्य केही कारोबारी फरार भएका छन् । लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा पुगेको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए । उक्त गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । तीमध्ये एक गोली भारतको बिहार राज्य, मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको थियो । घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका अब्दुल कलाम उक्त समूहका मुख्य कारोबारी हुन् ।

उनीहरूले लामो समयदेखि भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले अब्दुलको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई÷तीन जना फरार रहेकाले उनीहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com