काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिने कार्यकाल पूर्णतः असफल भएको टिप्पणी गरेका छन्।
लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारले जनतालाई दिएका आश्वासन र अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरे।
उनले भने, ‘जनतालाई जे आश्वासन र भ्रम देखाएर सरकार गठन गरिएको थियो, त्यसको आधारमा हेर्दा सरकारका सय दिन पूर्णतः असफल भएका छन्।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले तत्काल वाम एकताको कुनै तयारी नभएको स्पष्ट पार्दै अहिले विभिन्न राजनीतिक दलबीच सहकार्यमा जोड दिइएको बताए।
उनले भने, ‘अहिले वाम एकताको कुरा होइन। नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत सबै राजनीतिक दलसँग आवश्यक विषयमा सहकार्य गर्ने र त्यसका लागि समन्वय गर्ने काम भइरहेको छ।’
प्रचण्ड लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा पार्टी एकतापछि आयोजित पहिलो शपथग्रहण कार्यक्रममा सहभागी हुन सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनाललगायत शीर्ष नेतासहित बुटवल पुगेका हुन्।
प्रकाशित मिति: २० असार २०८३, शनिबार













प्रतिक्रिया