काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनसमर्थन आफ्नो पार्टीका लागि नयाँ विषय नभएको बताएका छन्।
बागमती प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले २०७४ सालको निर्वाचनमा एमालेले अहिले रास्वपाले पाएकोभन्दा बढी जनसमर्थन प्राप्त गरेको दाबी गरे।
उनले २०७४ को निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले फरक–फरक चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दा करिब १० लाख मत बदर भएकाले अपेक्षित परिणाम नआएको उल्लेख गरे।
पोखरेलले जनमत स्थायी नहुने र समय, परिस्थिति तथा मुद्दाका आधारमा परिवर्तन हुने बताए। उनका अनुसार जनताका अपेक्षा सम्बोधन गर्नु नै अहिले एमालेको प्रमुख दायित्व हो।
उनले नेकपा गठन, त्यसपछिको आन्तरिक विवाद, पार्टी विघटन र एमाले विभाजनका कारण वामपन्थी जनमत कमजोर बनेको स्वीकार गरे। ती घटनाले आम नागरिकमा निराशा बढाएको र त्यसैको प्रभावस्वरूप नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढेको उनको भनाइ थियो।
महासचिव पोखरेलले वामपन्थी शक्तिहरूबीच विगतमा भएका आरोप–प्रत्यारोप र आपसी द्वन्द्वले जनविश्वासमा असर पुगेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर पार्टीलाई पुनः जनतासँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित मिति: २० असार २०८३, शनिबार













प्रतिक्रिया