काठमाडौं । व्यवसायी दीपक भट्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट अन्य कारागारमा सरुवा गरिएको छ।
कारागार प्रशासन स्रोतका अनुसार भट्टलाई ललितपुरस्थित नख्खु कारागार र अधिकारीलाई काठमाडौंको केन्द्रीय कारागार, सुन्धारामा स्थानान्तरण गरिएको हो।
विभागबाट प्राप्त निर्देशनअनुसार शुक्रबार उनीहरूको सरुवा कार्यान्वयन गरिएको कारागार प्रशासनले जनाएको छ। सरुवाको कारणबारे भने आफूहरूलाई कुनै जानकारी नदिइएको स्रोतको भनाइ छ।
‘माथिल्लो निकायबाट सरुवाको पत्र आएपछि सोहीअनुसार कार्यान्वयन गरिएको हो। सरुवाको कारणबारे हामीलाई जानकारी गराइएको छैन,’ कारागार प्रशासन स्रोतले बतायो।
डिल्लीबजार कारागार तुलनात्मक रूपमा खुला वातावरण र सुविधायुक्त मानिने भएकाले उच्च प्रोफाइलका कैदीबन्दीहरूको रोजाइमा पर्ने गरेको छ। हाल पनि उक्त कारागारमा विभिन्न चर्चित व्यक्तिहरू सजाय वा पुर्पक्षका क्रममा रहेका छन्।
डिल्लीबजार कारागारमा हाल मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज, नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ, सुनिल पौडेल, विकल पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलगायत रहेका छन्।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया