काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील राष्ट्रिय विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिँदा अनावश्यक विवाद र अस्थिरता निम्तिने खतरा रहेको भन्दै सरकारलाई संयमित हुन आग्रह गरेका छन्।
पार्टीले आयोजना गरेको वर्तमान सरकारको पहिलो १०० दिनको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले प्रदेशको नाम, पहिचान, भाषा, समावेशिता र अधिकारजस्ता संवेदनशील विषयमा मन्त्रीहरूबाट आउने परस्परविरोधी अभिव्यक्तिले सरकारको स्पष्ट धारणा र जिम्मेवारीमाथि प्रश्न उठाएको बताए।
उनले सरकारका मन्त्रीहरूले एउटाले एकथरी र अर्काले अर्कै धारणा सार्वजनिक गर्ने प्रवृत्तिले भ्रम सिर्जना गरिरहेको उल्लेख गर्दै यस्ता विषयमा सरकार सञ्चालन गर्ने दलभित्र नै आवश्यक संवेदनशीलता र एकरूपता देखिन नसकेको टिप्पणी गरे।
संविधान निर्माणका क्रममा भएका सहमति, संवेदनशीलता र सन्तुलनलाई बेवास्ता गरेर अभिव्यक्ति दिनु उचित नहुने उनको भनाइ थियो। संविधान संशोधन आवश्यक भए पनि त्यसका लागि गम्भीर राजनीतिक संवाद, व्यापक सहमति र स्पष्ट प्रक्रियाको पालना हुनुपर्ने उनले बताए।
‘हामी संविधान संशोधनको विपक्षमा होइनौँ। समयअनुसार पुनरावलोकन र संशोधन आवश्यक हुन सक्छ। तर हचुवाको भरमा वा लोकप्रियताका लागि गरिने टिप्पणीले समाजमा अनावश्यक तनाव र विवाद निम्त्याउन सक्छ,’ थापाले भने।
उनले अधिकार, भाषा, पहिचान र समावेशिताका विषय सामान्य राजनीतिक बहसका मुद्दा नभई राष्ट्रिय संवेदनशीलतासँग जोडिएका विषय भएकाले यिनलाई अत्यन्त जिम्मेवारीपूर्वक उठाउनुपर्ने धारणा राखे।
नेपालको विविधता नै लोकतन्त्रको शक्ति भएको उल्लेख गर्दै थापाले त्यसलाई सम्मान गर्ने नीति र व्यवहार सरकारबाट अपेक्षित रहेको बताए। संवेदनशील विषयमा सोचविचारविनै बोल्ने वा निर्णय गर्ने प्रवृत्तिले राष्ट्रिय एकता र सामाजिक सद्भावमा नकारात्मक असर पर्न सक्ने भन्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया