सुर्खेत । डोल्पाको मौरेलेखमा आइतबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
डोल्पा प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीया विष्णु थापा रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खस्दा दुर्घटना भएको हो।
प्रारम्भिक विवरणअनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स घटनास्थलतर्फ परिचालन गरिएको छ।
दुर्घटनाको कारण र घाइतेहरूको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया