काठमाडौं। वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार लगातार वर्षा भएपछि विभिन्न स्थानमा पानी जम्ने र त्यही पानीमा डेङ्गी सार्ने लामखुट्टे प्रजनन गर्ने भएकाले सङ्क्रमण फैलिने जोखिम बढेको हो।

उनले असार ९ देखि १५ गतेसम्म देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै आगामी केही महिना थप सावधानी अपनाउनुपर्ने बताए।

डा. दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम विशेषगरी असारदेखि कात्तिकसम्म रहने गर्छ। घर वरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी तथा पानी संकलन हुने ठाउँ नियमित सफा गर्ने, सुत्दा झुल प्रयोग गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उनले आग्रह गरेका छन्।

उनका अनुसार डेङ्गी सार्ने एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फूल पार्ने गर्छन्। ती फूलबाट विकसित भएका लामखुट्टेले मानिसलाई टोकेपछि डेङ्गी संक्रमण फैलिने भएकाले सम्भावित प्रजननस्थलको पहिचान गरी नियमित सरसफाइ गर्नु अत्यन्त आवश्यक रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com