काठमाडौं । दैलेखको कर्णाली नदीमा यात्रुवाहक गाडी खसेको घटनामा सरकारको भूमिकाप्रति प्रतिनिधिसभामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। सांसदहरूले उद्धार तथा घटनाबारे सरकारको प्रतिक्रिया ढिलो भएको भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले असार १८ गते भएको दुर्घटनापछि पनि सरकार प्रभावकारी रूपमा सक्रिय नदेखिएको आरोप लगाए। उनले विपद्का बेला राज्यको उपस्थिति कमजोर भएको भन्दै कर्णालीका नागरिकमाथि विभेदपूर्ण व्यवहार भएको टिप्पणी गरे।

‘कर्णाली नेपालमै पर्छ कि पर्दैन ? विपद्का बेला राज्य किन मौन रहन्छ ?’ भन्दै शाहीले दुर्घटनाको वास्तविक अवस्था सार्वजनिक गर्न र उद्धार कार्यमा भएको ढिलाइबारे जिम्मेवारी निर्धारण गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे।

उनले कर्णालीका नागरिकको जीवनप्रति राज्य गम्भीर हुनुपर्ने उल्लेख गर्दै विकास र विपद् व्यवस्थापनमा कर्णालीलाई निरन्तर उपेक्षा गरिएको आरोपसमेत लगाए।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि दुर्घटनाबारे सरकारको औपचारिक जानकारी नआएको भन्दै तत्काल संसद्लाई जानकारी गराउन माग गरिन्। उनले कर्णालीवासीले पटक–पटक राज्यको बेवास्ता भोग्नुपरेको उल्लेख गर्दै कर्णाली राजमार्गको स्तरोन्नति र सुरक्षित यातायात व्यवस्थाको आवश्यकता औँल्याइन्।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा असार १८ गते कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com