काठमाडौं । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा संस्थागत सुधारको प्रक्रिया अघि बढाउँदै उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमनपछि संस्थामा देखिएका प्रशासनिक, आर्थिक र व्यवस्थापकीय समस्यालाई सुधार गर्न विभिन्न निर्णय सार्वजनिक गरेका हुन्।

अनुगमनका क्रममा प्रतिष्ठानको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर, पूर्वाधार, प्रशासनिक सुशासन तथा सार्वजनिक सम्पत्तिको संरक्षणबारे विस्तृत समीक्षा गरिएको थियो। त्यसपछि उच्च तहका पुराना कर्मचारीको सम्पत्ति छानबिन गर्न छुट्टै समिति गठन गर्ने र समग्र संस्थागत सुधारका लागि ‘रिफर्म कमिटी’ गठन गर्ने निर्णय गरिएको मन्त्रीद्वयले जानकारी दिए।

उनीहरूले प्रतिष्ठानमा १३ वर्षदेखि खरिद हुन नसकेको एमआरआई मेसिनका लागि मन्त्रालयले २५ करोड रुपैयाँ बजेट विनियोजन गरी खरिद प्रक्रिया अघि बढाइसकेको बताए। लामो समयदेखि विवादमा रहेको एमसीएच भवन सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रतिष्ठानलाई सुधारको स्पष्ट मार्गमा अघि बढाइएको दाबी गरे।

यस्तै, विद्यार्थीका लागि आधुनिक ‘स्किल ल्याब’ र सुविधासम्पन्न पुस्तकालय निर्माण गर्ने, साथै अस्पताल परिसरभित्र रहेको ‘निर्भाना कन्ट्री क्लब’लाई पुनः प्रतिष्ठानकै स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि मन्त्रीद्वयले बताएका छन्।

सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पारदर्शी, उत्तरदायी र गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक संस्था बनाउने लक्ष्यसहित सुधार अभियानलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com