काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा भएको बस दुर्घटनामा सरकारको उद्धार तथा राहत प्रयास प्रभावकारी हुन नसकेको भन्दै प्रतिनिधिसभामा कडा असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले दुर्घटनामा परेका नागरिकले समयमै उद्धार नपाउँदा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै विपद्का बेला सरकारको उपस्थिति कमजोर रहेको आरोप लगाए।
उनले उद्धारको प्रतीक्षामा रहेका नागरिकले सहयोगको याचना गरिरहँदा सरकारी संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको टिप्पणी गरे। मन्त्रीहरू हेलिकप्टरमा आवतजावत गरिरहे पनि दुर्घटनास्थलमा उद्धारका लागि आवश्यक साधन–स्रोत तत्काल परिचालन हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
शाहीले कर्णालीका नागरिकले राज्यबाट विभेदपूर्ण व्यवहार भोग्नुपरेको आरोप लगाउँदै ‘कर्णाली नेपालमै पर्छ कि पर्दैन ?’ भन्ने प्रश्न गरे। विपद्का बेला उद्धारका लागि हेलिकप्टरसमेत परिचालन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको उनको भनाइ थियो।
उनले प्रदेशस्तरमा राजनीतिक भागबन्डाको बहस भइरहेका बेला विपद्मा परेका नागरिकको उद्धारमा पर्याप्त ध्यान नदिइएको आरोपसमेत लगाए। कर्णालीका नागरिक पनि देशकै बराबरीका नागरिक भएकाले उनीहरूको जीवन सुरक्षाप्रति सरकार समान रूपमा जिम्मेवार हुनुपर्ने उनले बताए।
दुर्घटनाको प्रभावकारी छानबिन, उद्धारमा भएको ढिलाइको समीक्षा र भविष्यमा यस्ता घटनामा तत्काल सरकारी संयन्त्र परिचालन हुने व्यवस्था गर्न उनले सरकारसँग माग गरे।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार













प्रतिक्रिया