काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले व्यवस्था परिवर्तनभन्दा अब मुलुकको समृद्धि र नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले फेरि राजनीतिक अस्थिरता वा द्वन्द्व निम्त्याउने कुनै पनि गतिविधितर्फ नजान सबै पक्षलाई आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै साम्पाङले विगतका राजनीतिक आन्दोलन र परिवर्तनका क्रममा धेरैले जीवन गुमाएको स्मरण गराउँदै मुलुकलाई पुनः त्यही अवस्थातर्फ धकेल्न नहुने बताए।
व्यवस्था परिवर्तनको बहस पुनः उठ्न थालेको उल्लेख गर्दै उनले राजनीतिक दल, बौद्धिक समुदाय र सरोकारवाला सबैलाई संयमता अपनाउन आग्रह गरे। ‘देशले धेरै बलिदान दिइसकेको छ। अब फेरि रगत बगाउने होइन, विकास र समृद्धिका लागि पसिना बगाउने समय आएको छ,’ उनले भने।
साम्पाङले व्यवस्था परिवर्तनले मात्रै नागरिकको जीवनमा अपेक्षित सुधार आउन नसकेको उल्लेख गर्दै अब उत्पादन, रोजगारी र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरे। युवाहरू भविष्य खोज्दै विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु आजको प्रमुख चुनौती भएको उनको भनाइ थियो।
संविधान संशोधनको बहसलाई पनि उनले गम्भीर रूपमा लिनुपर्ने बताए। संघीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत व्यवस्थामा असावधानीपूर्वक हस्तक्षेप गरिए मुलुकमा पुनः राजनीतिक तनाव र अस्थिरता सिर्जना हुन सक्ने चेतावनी उनले दिए।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार













प्रतिक्रिया