काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग केही महिनाभित्र पुनः सञ्चालनमा आउने बताएकी छन्।
मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले उद्योग सञ्चालनको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिइन्।
उनका अनुसार उद्योगको मर्मत तथा पुनः सञ्चालनका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ र सो रकम उद्योगमा पुगिसकेको छ। अहिले मर्मतसम्भारको कामसमेत अघि बढिरहेको उनले बताइन्।
‘हेटौँडा कपडा उद्योगको मर्मतका लागि आवश्यक बजेट निकासा भइसकेको छ। मर्मत कार्य पनि सुरु भइसकेको छ, त्यसैले केही महिनाभित्र उद्योग सञ्चालनमा आउनेमा सरकार विश्वस्त छ,’ मन्त्री कुमारीले भनिन्।
उनले सरकारले स्वदेशी उद्योगको पुनरुत्थानलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै व्यापार घाटा घटाउन र आयातमा निर्भरता कम गर्न उत्पादनमुखी उद्योगको प्रवर्द्धनमा विशेष जोड दिइएको पनि बताइन्।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार













प्रतिक्रिया