काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई सोमबार साँझ करिब ७ः३० बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउको कारणबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
अधिकारीको पक्राउपछि स्थानीय स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन्। उनीहरूले सामाजिक सञ्जालमा मन्त्रीको आलोचना गरेकै आधारमा पक्राउ गरिएको दाबी गर्दै पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।
सहकर्मीहरूका अनुसार अधिकारी हेल्थ असिस्टेन्ट हुन्। उनी यसअघि निजी स्वास्थ्य संस्थामा कार्यरत थिए भने हाल लोकसेवा आयोगको तयारी गरिरहेका थिए। उनी पछिल्लो समय स्वास्थ्यमन्त्री मेहताको कार्यशैलीप्रति सामाजिक सञ्जालमार्फत निरन्तर टिप्पणी गर्दै आएका थिए।
गत शनिबार अधिकारीले फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्बिरमा रातो क्रस चिन्ह राख्दै ‘माफिया मन्त्री’ भन्ने टिप्पणीसहित पोस्ट गरेका थिए। अर्को स्टाटसमा उनले मधेश प्रदेशका अस्पतालमा विपन्न नागरिकका लागि छुट्याइने १० प्रतिशत शय्या (बेड) प्रभावकारी रूपमा कार्यान्वयन नभएको आरोप लगाउँदै मन्त्रीको राजीनामा माग गरेका थिए।
स्वास्थ्यकर्मीहरूको अनुमानअनुसार ती फेसबुक पोस्टकै विषयलाई लिएर साइबर ब्युरोमा उजुरी परेपछि उनी पक्राउ परेका हुन सक्छन्। यद्यपि, पक्राउको वास्तविक कारणबारे प्रहरीबाट आधिकारिक विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार













प्रतिक्रिया