काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता तथा पूर्वकेन्द्रीय सदस्य मोहन बस्नेतले पार्टीभित्र विशेष महाधिवेशनको पक्षमा देखिएको गतिविधि स्वतःस्फूर्त नभई बाह्य सहयोगको परिणाम भएको दाबी गरेका छन्। उनले त्यस्ता गतिविधिमा संलग्नहरू भविष्यमा पनि त्यसको प्रभावबाट मुक्त हुन नसक्ने टिप्पणी गरे।

मंगलबार काठमाडौंको चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै बस्नेतले विशेष महाधिवेशनका पक्षधरहरू इतर समूहका नेताहरूसँग सहज रूपमा संवाद गर्नसमेत इच्छुक नरहेको बताए।

उनले विशेष महाधिवेशनमा पराजित भएका व्यक्तिहरू अहिले पनि पार्टीको नेतृत्व तहमा रहेकाले उनीहरू मानसिक दबाबमा रहेको टिप्पणी गर्दै त्यसकै प्रभाव राजनीतिक व्यवहारमा पनि देखिएको बताए।

बस्नेतले इतर समूहलाई आगामी रणनीतिमा स्पष्ट हुन आग्रह गर्दै सभापति गगन थापाबाहेक अन्य नेतासँग अनावश्यक वार्तामा नबस्न सुझाव दिए। उनले इतर समूहले आवश्यकभन्दा बढी लचकता देखाइसकेको उल्लेख गर्दै अब निर्णायक ढंगले अघि बढ्नुपर्ने धारणा राखे।

उनले साउन १५ भित्र राष्ट्रिय भेला आयोजना गरी समूहको आगामी राजनीतिक दिशा तय गर्नुपर्ने प्रस्तावसमेत अघि सारे। यदि एकताको सम्भावना देखिए त्यसअनुसार अघि बढ्न र सम्भव नभए महाधिवेशनको स्पष्ट कार्यतालिका सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

बस्नेतले नेतृत्वलाई निर्णय लिन ढिलाइ नगर्न आग्रह गर्दै कार्यकर्ताहरू स्पष्ट दिशाको प्रतीक्षामा रहेको बताए। उनले अभियान सुरु गरिसकेपछि त्यसलाई निष्कर्षमा पुर्‍याउनु नेतृत्वको जिम्मेवारी भएको उल्लेख गर्दै अब अनिर्णयको अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए।

सम्पर्क कार्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पर्ने सबै सहयोग गर्न आफू तयार रहेको बताउँदै बस्नेतले संगठन सुदृढीकरणका लागि इतर समूह एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com