काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित अधिकांश प्रतिवादीलाई दोषी ठहर गरेको छ। अदालतले यस प्रकरणमा सात जनालाई भने सफाइ दिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा फैसला सुनाउँदै उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिसहित अधिकांश प्रतिवादीलाई दोषी ठहर गरेको हो।

अदालतको फैसलाअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वमन्त्रीका सल्लाहकार डा. इन्द्रजीत राई, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेल दोषी ठहर भएका छन्।

यस्तै, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापालाई अदालतले सफाइ दिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा यो मुद्दा दायर भएको थियो। लामो अनुसन्धानपछि प्रहरीले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो। काठमाडौं जिल्ला अदालतको पछिल्लो फैसला यस बहुचर्चित प्रकरणको महत्वपूर्ण न्यायिक निष्कर्षका रूपमा आएको छ।
अब अदालतले दोषी ठहर भएका प्रतिवादीको सजाय निर्धारण (सुनुवाइ) तथा पीडितलाई क्षतिपूर्तिसम्बन्धी निर्णय आगामी चरणमा गर्नेछ।
अदालतको फैसला हेर्न यहाँ Click गर्नुहोस्। 

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com