काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राई र सभामुख डीपी अर्यालबीच चर्को विवाद भएको छ। सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राईले वर्तमान व्यवहारले अर्याल पाँच वर्ष संसद् सञ्चालन गर्न नसक्ने टिप्पणी गरेका हुन्।
बुधबारको बैठकमा बोल्ने क्रममा राईले, ‘तपाईंको व्यवहारले तपाईं पाँच वर्ष संसद् चलाउन सक्नुहुन्न, मैले बुझिसकेँ, खुट्टी हेरिसकेँ। के कुरा भन्दैछु, सुन्नुपर्छ कि पर्दैन ?’ भन्दै सभामुखको आलोचना गरेका थिए।
यसअघि सभामुख अर्यालले राईलाई बोल्ने समय दिएका थिए। तर, राईले सम्बोधनको सुरुमै ‘सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेपछि सभामुखले उक्त अभिव्यक्तिलाई संसदीय मर्यादाविपरीत भएको भन्दै उनको बोलाइ रोकेर समय फिर्ता लिएका थिए। त्यसपछि सभामुखले बोल्ने अवसर एमालेकै सांसद परशुराम तामाङलाई दिएका थिए। तर, तामाङले बोल्न अस्वीकार गरेका थिए।
त्यसपछि एमाले सांसदहरूले बैठकमा उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले राईले आफ्नो गल्ती स्वीकारेको उल्लेख गर्दै पुनः बोल्ने समय दिएका थिए। तर, राईले सम्बोधन सुरु गरेलगत्तै सभामुखले फेरि सचेत गराएका थिए। त्यसपछि प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित गरिएको थियो।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया