काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका स्थानीयवासीले स्वच्छ खानेपानी नपाए काठमाडौंतर्फको पानी आपूर्ति रोक्न बाध्य हुने चेतावनी दिएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले मेलम्ची आयोजनाको ड्याम रहेको गोकर्णेश्वर क्षेत्रका बासिन्दा नै खानेपानीको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले मुहान क्षेत्र र सुन्दरीजल आसपासका स्थानीयले पर्याप्त पानी नपाउँदा अन्य क्षेत्रमा भने नियमित वितरण भइरहेको भन्दै त्यसलाई अन्यायपूर्ण अवस्था भएको टिप्पणी गरे।
सांसद राजुनाथ पाण्डेले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा कर्मचारी तथा प्राविधिकहरूको मिलेमतो र लापरबाही रहेको आरोप पनि लगाए। केही टोलमा नियमित पानी छोड्ने र केहीलाई उपेक्षा गर्ने प्रवृत्तिका कारण स्थानीयले सास्ती खेप्नुपरेको उनको भनाइ थियो।
‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहीँका १ देखि ९ नम्बर वडाका बासिन्दा पानीबाट वञ्चित छन्। मुहान क्षेत्रका नागरिकले नै पानी नपाउने अवस्था अब स्वीकार्य छैन। यदि उनीहरूको समस्या तत्काल समाधान भएन भने हामी ड्याम बन्द गरेर काठमाडौंतर्फको पानी आपूर्ति रोक्न बाध्य हुनेछौँ,’ उनले चेतावनी दिए।
आरुबारीमा निर्माणाधीन दुई करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्द भई नयाँ प्रक्रियामा गएको तथा दोस्रो चरणको पाइपलाइन विस्तारमा भएको ढिलाइले स्थानीयलाई थप समस्या परेको पनि उनले बताए।
सांसद पाण्डेले केयूकेएल र आयोजनासँग आबद्ध प्राविधिक तथा कर्मचारीलाई वितरण प्रणाली पारदर्शी र प्रभावकारी बनाउन कार्यशैली सुधार्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार













प्रतिक्रिया