एजेन्सी । अमेरिका–इरानबीचको तनाव पुनः चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकैदिन ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि विश्व बजारमा तेल आपूर्तिको भविष्यलाई लिएर चिन्ता बढेको हो।
बुधबारको कारोबारमा लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.८२ अमेरिकी डलरले बढेर ७७.९८ डलर पुगेको छ। यो अघिल्लो कारोबारको तुलनामा ५.१५ प्रतिशतले बढी हो। त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्ज (एनवाईएमईएक्स)मा वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई)को मूल्य पनि ३.७० डलर बढेर प्रतिब्यारेल ७४.१४ डलर पुगेको छ, जुन ५.२५ प्रतिशतको वृद्धि हो। दुवै सूचकांक जुन २३ यताकै उच्च विन्दुमा पुगेका छन्।
यसअघि अमेरिकाले इरानी कच्चा तेल बिक्रीका लागि दिइएको सामान्य अनुमति (जनरल लाइसेन्स) रद्द गरेपछि पनि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो। त्यसलगत्तै राष्ट्रपति ट्रम्पले इरानसँगको अन्तरिम समझदारी समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप वार्तामा रुचि नरहेको स्पष्ट पारेका थिए।
यता, अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले स्ट्रेट अफ होर्मुज हुँदै गइरहेका व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफमा इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई कारबाही गरेको जनाएको छ। त्यसपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य आधारलाई मिसाइल तथा ड्रोनमार्फत निशाना बनाएको दाबी गरेको छ।
ऊर्जा बजारका विश्लेषकहरूका अनुसार पछिल्लो सैन्य तनावले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा जोखिम बढाएको छ। इरानले स्ट्रेट अफ होर्मुजबाट आफ्ना जहाजको आवतजावत मात्र सुरक्षित हुने संकेत दिएपछि केही अन्तर्राष्ट्रिय तेल तथा ग्यास ट्याङ्करले आफ्नो मार्ग परिवर्तन गरेका छन्।
गत महिना युद्धविरामपछि तेलको मूल्य घट्ने अपेक्षा गरिए पनि पछिल्ला घटनाक्रमले बजारको धारणा उल्टिएको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार वर्तमान अवस्थाले कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने सम्भावना बढाएको छ।
यद्यपि, तेल ट्याङ्करमाथिको आक्रमणमा आफ्नो संलग्नता इरानले अस्वीकार गरेको छ। कतारले भने आफ्ना एलएनजी बोकेका जहाजसहित केही व्यावसायिक जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ होर्मुजमा बढ्दो असुरक्षाले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार













प्रतिक्रिया