काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार आफ्नै राजनीतिक प्रतिबद्धताविपरीत अघि बढेको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अर्यालले सरकारले निर्वाचनमा पराजित व्यक्तिहरूलाई लगातार विभिन्न सार्वजनिक पदमा नियुक्त गर्दै ‘नयाँ राजनीति’को नारालाई कमजोर बनाएको दाबी गरिन्।

उनले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति अध्यादेशमार्फत खारेज गर्ने निर्णय गरेको वर्तमान सरकारले अहिले आफ्ना निकट व्यक्तिहरूलाई नै प्राथमिकता दिएर नियुक्ति गरिरहेको आरोप लगाइन्।

‘रास्वपाले “जान्नेलाई छान्ने” नारा दिएको थियो। तर, व्यवहारमा योग्यलाई पन्छाएर आफ्ना पक्षका व्यक्तिलाई अवसर दिने काम भइरहेको देखिन्छ,’ उनले भनिन्।

अर्यालले सरकारको सय दिनको कार्यशैलीले घोषणा गरिएका सिद्धान्त र व्यवहारबीच ठूलो अन्तर देखिएको टिप्पणी गर्दै, विगतमा आलोचना गरिएका व्यक्तिहरू रास्वपामा आबद्ध हुनासाथ योग्य देखिन थालेको आरोप पनि लगाइन्।

उनले सुशासनको प्रतिबद्धता पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको दाबी गर्दै आफ्ना निकट व्यक्तिलाई छानबिनको दायराबाहिर राख्ने प्रवृत्तिले सरकारको नियतमाथि प्रश्न उठाएको बताइन्। सुशासनको नाममा सरकारले देखावटी गतिविधिमात्र गरेको उनको आरोप थियो।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com